जेठ ७ । इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार शुक्रवार बिहान २ बजे अर्थात आज बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीले जनाएको छ।
इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन्। थप वार्ताका लागि इजिप्टले इजरायल र प्यालेस्टाइनमा प्रतिनिधिहरु पठाउने बताइएको छ।
प्यालेस्टाइनले केही दिनदेखि युद्धविरामको पहल गरिरहे पनि इजरायलले मानेको थिएन। अहिले पूर्वसर्त बिना युद्धविरामका लागि इजरायलले सहमति जनाएको बीबीसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुशी व्यक्त गर्दै इजरायलले आफ्नो सुरक्षाका अधिकार प्रयोग गर्नेमा विश्वास रहेको बताएकाछन्।
दुई देशबीच भएको ११ दिनको युद्धमा प्यालेस्टाइनको गाजा क्षेत्रमा कम्तीमा दुई सय २७ जनाको ज्यान गएको छ भने हमासको आक्रमणबाट इजरायलतर्फ १२ जनाको ज्यान गएको छ। दुवैतर्फ ठूला भवनलक्षित रकेट तथा हवाई आक्रमणहरु भएका छन्। एजेन्सी


























