चितवन, जेठ ५ । सामाजिक उत्तर दायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार चितवन उद्योग संघको आयोजनामा भरतपुर अस्पताललाई १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमका सभापति एवं चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले मानवीय सेवाको लागि संघको तर्फबाट हस्तान्तरण गरिएको अक्सिजन कन्सन्ट्रेटर उपयुक्त ठाउँमा प्रयोग हुनेमा विश्वास व्यक्त गरे। चितवनको हकमा उद्योग संघबाट गरिएको यो पहिलो प्रयास हुन सक्छ जसले कोरोनाबाट अकालमा ज्यान जाने बिरामीहरुलाई बचाउन सहयोगमिल्ने भएकोले हस्तान्तरण गरिएको उनले बताए।
त्यस्तै प्रमुख अतिथि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले विभिन्न संघ–संस्थाहरुले स्वास्थ्य सामाग्रीहरु वितरण गरि मानवीय कार्यमा सहयोग गरिरहँदा पहिलो पटक चितवन उद्योग संघबाट अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण हुँदा आफूहरु निकै खुशी भएको बताए। उनले भने उद्योग संघको सहकार्यलाई अस्पताल परिवार र स्वास्थ्यसँग सरोकार राख्ने विभिन्न निकायहरुले कहिल्यै बिर्सन नसकिने समेत बताए।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी, भरतपुर अस्पतालका कार्यबाहक मेसु डा.जगन्नाथ तिवारी, भरतपुर अस्पतालका पूर्व मेसु डा.कृष्ण पौडेल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो।
चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले सञ्चालन गरेको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गरेका थिए।


























