चितवन ०३ जेठ । चितवनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अक्सिजन अभाव भएका समाचार सार्वजनिक भएपछि नारायणगढमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले भरतपुर अस्पताललाई अक्सिजनसहितको २० थान सिलिन्डर सहयोग गरेको छ। करिब चार लाख मूल्य बराबरको सिलिन्डर सहयोग गरिएको एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।
आइतबार अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीलाई अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरिएको हो। एक पटकलाई मात्र नभई यसपछि पनि पुनः प्रयोगमा ल्याउन सहज होस् भन्ने उद्देश्यले सिलन्डर नै सहयोग गरिएको प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ। आइतबार हस्तान्तरण गरिएको सिलिन्डरमा अक्सिजन सकिएपछि पुनः एक पटक एक्सपर्टले नै भराइदिने पनि उनले बचन दिएका छन्।
अस्पतालमा कोरोना संक्रमितलाई अक्सिजनको अभावमा उपचार गर्न समस्या परिरहेका बेला निजी क्षेत्रबाट आएको सहयोगले थप आशा जगाएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए। यसले विपन्न बिरामीको उपचारमा सहयोग पुग्ने उनको भनाइ छ।


























