जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र पार्टीका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आज २८औँ मदन-आश्रित स्मृति दिवस मनाइँदैछ।
सत्तारुढ नेकपा एमालेले आफ्ना जनप्रिय नेताहरुको सम्झनामा विभिन्न कार्यक्रम गरेर स्मृति दिवस मनाउने तयारी गरेको छ। यसैक्रममा पार्टीको केन्द्रीय कार्यालय मदननगर, बल्खुमा रहेको मदन-आश्रितको शालिकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माल्यार्पण गर्दैछन्।
कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमा माल्यार्पण गर्नेछन्।
जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका जनप्रिय व्यक्तित्व थिए। भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नेपालसँगै विश्व कम्युनिष्ट आन्दोलनमा उच्च उपलब्धिको रुपमा लिइदै आएको छ।
छोटो राजनीतिक जीवनमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो। उनीसँगै संगठन विभाग प्रमुख आश्रितको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो।


























