चितवन, जेठ २ । कोरोनाभाइरसको संक्रमण वृद्धिदर केही घटेको देखिएको छ। हिजोभन्दा आज परीक्षण बढ्दा पनि संक्रमितको संख्या सात सय ७८ ले घटेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार तीन सय ६८ जनामा संक्रमण देखिएको छ। देशभर १९ हजार पाँच जनाको स्वाब परीक्षण गरिएको थियो।
शनिबार आठ हजार ४६ जनामा संक्रमण देखिएको थियो। जबकी १८ हजार पाँच सय ४४ जनाको मात्रै स्वाब परीक्षण गरिएको थियो।
पछिल्लो केही दिनयता पनि संक्रमित थपिने क्रम घट्दै आएको देखिएको छ। २८ वैशाखमा नौ हजार चार सय ८३ जनामा संक्रमण देखिएको थियो भने २९ वैशाखमा बढेर नौ हजार तीन सय पाँच पुगेको थियो। ३० वैशाखमा यो संख्या घटेर आठ हजार नौ सय ६० मा झरेको थियो।
त्यसयता पनि क्रमिक रुपमा घट्दै आएको छ। ३१ वैशाखमा आठ हजार पाँच सय २० र १ जेठमा आठ हजार एक सय ६७ नयाँ संक्रमित थपिएका थिए।आज आएर सात हजार तीन सय ६८ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट एक सय ४५ जनाको ज्यान गएको छ। योसँगै मृत्यु हुनेको संख्या पाँच हजार एक पुगेको छ।


























