जेठ १ । इंग्ल्यान्डको एफए कप फुटबलको फाइनल खेल आज राति हुँदैछ। फाइनलमा चेल्सी र लेष्टर सिटी भिड्दै छन्। चेल्सी र लेष्टरबीचको उपाधि भिडन्त राति १० बजे सुरु हुनेछ।
वेम्बली स्टेडियममा आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ। चेल्सी आज नवौं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ। तर, बलियो टिम लेष्टरविरुद्ध चेल्सीलाई सहज हुने छैन।
लेष्टर पहिलो पटक उपाधि जित्न चाहन्छ। लेष्टरले हालसम्म एफए कप जित्न सकेको छैन। लेष्टर सन् २००० पछि पहिलो पटक ठुलो प्रतियोगिताको फाइनलमा समेत पुगेको हो।
एफए कपमा चेल्सीले हालसम्म लेष्टरसँग ७ पटक प्रतिस्पर्धा गरेको छ। चेल्सीले ७ भेटमै जित निकालेको छ। चेल्सीका माटियो कोभासिच र एन गालो कान्टेले लेष्टरविरुद्ध खेल्दै मैदान फर्कने छन्। चोटका कारण उनीहरु टिम बाहिर रहदै आएका थिए। लेष्टरका जेम्स म्याडिसनले चेल्सीविरुद्धको खेल गुमाउन सक्ने छन्। उनी पूर्ण फिट छैनन्। एजेन्सी
























