चितवन, बैशाख ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ।
नेपालमा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।
उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन्। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।


























