काठमाडौं, बैशाख २५ । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ। प्रतियोगिताको प्लेअफमा दुई टिमले स्थान पक्का गरिसकेका छन्। अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ।
आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर र ललितपुरबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।
आज दुबै टिम जित निकाल्दै प्लेअफ पुग्न चाहन्छ। विराटनगर ५ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ। ललितपुरलाई हराएको खण्डमा विराटनगरले शीर्ष चार सुरक्षित गर्नेछ।
बराबरी गरेको खण्डमा अन्य खेलको नतिजा कुर्नु पर्नेछ। प्लेअफ पुग्न ललितपुरलाई जितको विकल्प छैन। बराबरीले ललितपुर बाहिरिनेछ। ललितपुर ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। शनिबार हुने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
शीर्ष स्थानमा रहेको धनगढी प्लेअफ पुगिसकेको छ। तर, धनगढी अन्तिम लिग खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफ खेल्न चाहन्छ। धनगढीले ५ खेलमा १० अंक जोडेको छ।
बुटवललाई भने प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा फराकिलो जित निकाल्नै पर्ने दबाब रहेको छ। बुटवल ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।


























