देवघाट, बैशाख २३ । तनहुँको देवघाट गाउँपालिकामा गाउँपालिका स्तरीय आधारभुत अस्पताल बन्ने पक्का भएको छ। गाउँपालिकाले अस्पतालको भवन निर्माणका लागि आज सम्झौता गरेसँगै अस्पताल बन्ने पक्का भएको हो।
गाउँपालिका र भवन निर्माण गर्ने कम्पनी रोशन शिवशक्ति जेभि हेटौडा बिच भवन निर्माण सम्बन्धि सम्झौता भएको छ। सम्झौता पत्र आदानप्रदान गर्दै अस्पताल भवन निर्माण कार्यलाई सहयोग र सहज गर्न देवघाट गाउँपालिका तयार रहेको बताउदै गुणस्तरीय रुपमा समयमै भवनको निर्माण सम्पन्न गर्न गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले आग्रह गरे।
भवनको गत मंसिर १५ गते तनहुँ क्षेत्र नम्बर १ संघिय सांसद कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गरेका थिए।
सो भवनको सूचना प्रकाश भने गत साल पुस २९ गते भएको र सुचना अनुसार १४ वटा बोलपत्र कार्यालयमा पेस भएको थियो। जसमा प्रविधिक र आर्थिक प्रस्तावको मुल्यांकनमा रोशन–शिवशक्ति जे.वि. हेटौंडा पहिलो नम्बरमा परेको थियो। बोलपत्रको मुल्यांकन प्रक्रिया पुरा गरि बुधवार सम्झौता गरिएको हो। सो आधारभुत दस सैय्याको अस्पताल भवन निर्माण कार्य २०८० साल बैशाख २१ गते भित्र सम्पन्न गर्नुपर्ने छ।
सो भवन निर्माणको लागि कार्यालयको कुल लागत मुल्य वृद्धि संयोजना र भैपरि खर्च सहित १२ करोड ८३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ ५४ पैसा रहेको छ भने रोशन–शिवशक्ति जे.वि. हेटौंडाले भ्याट सहित ७ करोड ७८ लाख ५२ हजार ७ सय १८ रुपैयाँ ५७ पैसामा सम्पन्न गर्नुपर्ने छ। १८ रोपनी क्षेत्रफल भएको जमिन भएता पनि करिब दुई रोपनी क्षेत्रफल भित्र भवन बन्नेछ। निर्माण सुरु हुन लागेको अस्पतालको दुई तले भवनको भुइ तलमा १६ र माथिल्लो तलामा १६ गरि ३२ कोठाको लिफ्ट र र्याम्प सहितको आधुनिक भवन हुने देवघाट गाउँपालिकाका प्रमुख इन्जिनियर तिर्थराज ढुंगानाले जानकारी दिए।
कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट गाउँपालिका प्रशासन प्रमुख गोविन्द पौडेल, देवघाट गाउँपालिका लेखा प्रमुख उमनाथ ढकाल, देवघाट गाउँपालिका स्वास्थ्य प्रमुख प्रदीप बुढाथोकी र शिवशक्ति जेवि हेटौंडा मकवानपुरका प्रतिनिधि सुरेन्द्र पाठक लगाएतको उपस्थिति रहेको थियो।


























