बैशाख २३ । चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ। सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो।
प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजा सहित फाईनल प्रवेश गर्यो। दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक गोल गरे।
काइ हभार्ट्जको प्रहार पोस्टमा लागेर फर्किदा वार्नरले २८ औं मिनेटमा हेडमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए। खेल सकिन ५ मिनेट अघि माउन्टले चेल्सीका लागि दोस्रो गोल गरे। पुलिसिकले डिबक्स भित्र उपलब्ध गराएको चलाखीपूर्ण पासमा माउन्टले गोल गरेका हुन्।
अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाईनल खेल्नेछ। उसले सन् २००८ मा म्यान्चेष्टर युनाईटेडसंग पेनाल्टी सुटआउटमा उपाधि भिडन्त गुमाएको थियो। त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो।
फ्राङ्क लाम्पार्ड बर्खास्तमा परेपछि चेल्सी सम्हाल्न आईपुगेका थोमस टुचेल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुगेका हुन्। टुचेलले पीएसजीबाट गत सिजन च्याम्पियन्स लिगको फाईनलमा टिमको नेतृत्व गरेका थिए। चेल्सीले मे १५ मा लेस्टर सिटीसंग एफ ए कपको फाईनल समेत खेल्दैछ।
चेल्सीले च्याम्पियन्स लिगको उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ। सिटीले मंगलबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै फाईनल यात्रा तय गरिसकेको छ। एजेन्सी


























