काठमाडौं, बैशाख २२ । सर्वोच्च अदालतले न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनले देशले एउटा सच्चा न्यायप्रेमी व्यक्तित्वलाई गुमाएको जनाएको छ।
प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको आकस्मिक बैठकले निरालाको निधनले न्यायको क्षेत्रमा क्षति पुगेको जनाएको हो।
बैठकपछि सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “विभिन्न पदीय जिम्मेवारी र भूमिकामा समेत रही करीब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहनुभएका स्व लक्ष्मीबहादुर निराला खड्काको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तिलाई गुमाएको छ।” बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
पूर्वमहान्यायाधिवक्तासमेत रहनुभएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो। जनकपुरमा विसं २००० माघ २ गते जन्मिएका निरालाले काठमाडौँलाई कर्मथलो बनाएका थिए। उनी कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त भएका थिए। रासस


























