काठमाडौं, बैशाख २० । केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि गर्ने भनेको पहिलो चरणको जनगणनाको कार्यक्रम हालका लागि स्थगित गरेको छ।कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको हो।
राष्ट्रिय योजना आयोगका अनुसार कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगित गरिएको हो।सरकारले स्थगित गर्ने निर्णय गरे पनि आधिकारिक पत्र भने नआइसकेको आयोगले जनाएको छ।
संक्रमण दिनानुदिन बढ्दै गएपछि गणकहरुलाई कार्यस्थलमा खटाउन समस्या हुने भएका कारण अर्को सूचना जारी नभइञ्जेलसम्मका लागि गणना स्थगित गरिएको छ।
नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ। प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिएको छ। ‘मेरो गणनाः मेरो सहभागिता’नाराका साथ यस वर्ष केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरेको थियो।

























