काठमाडौं, बैशाख १८ । नेपालमा पहिलो पटक आयोजना भईरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ।
धनगढी र चितवनबीचको खेल अपरान्ह साढे २ बजे सुरु हुनेछ। आज धनगढी चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ। धनगढी ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३-० ले पराजित भएको थियो। तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले हराएको थियो। तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो।
चितवनको यो तेस्रो खेल हो। चितवन पनि धनगढीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ। चितवन २ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ।चितवनले पहिलो खेलमा ललितपुरसँग १-१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा चितवनले बुटवलसँग २-२ को बराबरी खेलेको थियो।
यस्तै दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीबीच खेल हुनेछ। बुटवल र विराटनगरबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। बुटवल २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
आज बुटवल जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ। पहिलो खेलमा पोखरा एफसीलाई २-० ले हराएको बुटवल दोस्रो खेलमा भने चितवनसँग बराबरीमा रोकिएको थियो। विराटनगर २ खेलमा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। पहिलो खेलमा धनगढीलाई पराजित गरेको विराटनगर दोस्रो खेलमा पोखरासँग पराजित भएको थियो।


























