बैशाख १७ । युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनल पराजित भएको छ। बिहीबार राति भएको खेलमा आर्सनल स्पेनिस क्लब भिल्ला रियलसँग २-१ ले पराजित भएको हो।
घरेलु मैदानमा भिल्लालाई जित दिलाउन म्यानुएल त्रिगुएरोस र राउल अल्बीओलले एक एक गोल गरे। आर्सनलका निकोलस पेपेले एक गोल फर्काए। खेलको पाँचौ मिनेटमा म्यानुएलले गोल गर्दै भिल्लालाई १-० को अग्रता दिलाएका थिए। खेलको २९ औं मिनेटमा राउलले गोल गर्दै भिल्लालाई २-० को अग्रता दिलाए।
५७ औं मिनेटमा डानिल सेबालोसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा समेटिएको थियो। तर, खेलको ७३ औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को स्थितिमा ल्याए।
खेलको ८० औं मिनेटमा इटिने कापोएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम पनि १० खेलाडीमा समेटिएको थियो। त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल भिल्लाले २-१ ले आफ्नो बनायो।
यस जितसँगै भिल्लाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। आर्सनललाई भने घरेलु मैदानमा हुने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ। इमिरेट्स स्टेडियममा हुने दोस्रो लेग मे ७ मा हुनेछ। एजेन्सी


























