बैशाख १७ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ। घरेलु मैदानमा बिहीबार राति भएको पहिलो लेगमा युनाईटेडले इटालियन क्लब रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो।
युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र एडिन्सन काभानीले दुई दुई गोल गरे। पाउल पोग्बा र मसान ग्रीनउडले एक एक गोल थपे। रोमाका लोरेन्जो पेल्लेग्रिनी र एडिन डेज्कोले एक एक गोल फर्काए।
ओल्ड ट्राफोर्डमा नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए। तर, १५ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए। ३४ औं मिनेटमा डेज्कोले गोल गरेपछि पहिलो हाफमा रोमा २-१ ले अघि रह्यो। खेलको ४८ औं मिनेटमा काभानीले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए।
६४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-२ को अग्रता दिलाए। खेलको ७१ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गरेपछि युनाईटेड ४-२ ले अघि रह्यो। ७५ औं मिनेटमा पोग्बाले गोल गरेपछि युनाईटेडले ५-२ को अग्रता बनायो। त्यसपछि खेलको ८६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई ६-२ को सानदार जित दिलाए।
जितसँगै युनाईटेडले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। यस जितले युनाईटेडलाई दोस्रो लेगमा सहज हुनेछ। रोमालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ। रोमाको मैदानमा हुने दोस्रो लेग मे ७ मा हुनेछ। एजेन्सी


























