उदयपुर, बैशाख १६ । त्रियुगा नगरपालिका–४ बगाहामा बुधबार ३ बजे पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट हिँडेका एक किशोर साँझ बगाहा नजिकै जङ्गलमा रहेको पोखरीमा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यलयका अनुसार यसरी पोखरीमा डुबेर मृत फेला परेका किशोर त्रिनपा–४ का १५ वर्षीय विवेक ढकाल रहेका छन्। जङ्गलको पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट एक्लै हिँडेका ढकाल साँझसम्म पनि घर नआएपछि घरपरिवारसहित स्थानीयवासीले प्रहरीलाई जानकारी गराएर व्यापक खोजी गरेको प्रहरीले जनाएको छ।
खोजी गर्ने क्रममा राति ढकालको कपडा जङ्गलको पोखरीको डिलमा फेला परेको र पोखरीमा खोजी गर्दा ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताए। अहिले ढकालको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ भने उनको मृत्युबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ। रासस


























