बैशाख १६ । जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पाराओलम्पिकमा सहभागी खेलाडीले दैनिक कोरोना भाईरसको (पीसीआर) परिक्षण गर्नु पर्ने भएको छ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि, पाराओलम्पिक कमिटि र आयोजक कमिटिको बैठकले खेलाडीले दैनिक कोरोना परिक्षण गराउनु पर्ने निर्णय गरेको हो।आयोजक कमिटिले प्रतियोगिताको प्लेबुक सार्वजनिक गर्दै खेलाडीले दैनिक कोरोना परिक्षण अनिवार्य रुपमा गर्नु पर्ने जनाईएको छ।
यस्तै सहभागी खेलाडीले अनिवार्य फेस मास्क लगाउनु पर्नेछ। प्रतिस्पर्धा, प्रशिक्षण, खाने, पिउने र सुत्ने समय बाहेक अन्य समय मास्क लगाउनु पर्ने बताईएको छ।
खेलाडीले अनिवार्य कोरोना खोप लगाउनु पर्ने छैन। तर, प्रतियोगिताका लागि आएका खेलाडीले ३ दिन क्वारेन्टिन बस्नु पर्नेछ। यस पटकको ओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध गरिएको छ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै विदेशी समर्थक अनुमति नदिने निर्णय गरेको हो। कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ। जसमा फुटबल र बेसबल रहेको छ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ। ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ। कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।


























