बैशाख १५ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन्। मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १-१ गोलको बराबरी खेलेका छन्।
रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने चेल्सीले टोलीले बनाएको थियो। खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए। उनले एन्टोनियो रुडिगरको पासलाई सदुपयोग गरे।
तर, खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए। इडर मिलिटाओको पासमा उनले गोल गरे। त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेन र खेल बराबरीमा सकियो।
यस बराबरीसँगै दुबै टोलीको फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ। अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा हुनेछ। दोस्रो लेगको खेल आगामी मे ६ मा हुनेछ। एजेन्सी


























