काठमाडौं, बैशाख १४ । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ।
धनगढी र काठमाडौंबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। राष्ट्रिय टिमका कप्तान समेत रहेका गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी पहिलो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो।
तर, दोस्रो खेलमा धनगढी जित निकाल्दै उपाधि दाबेदारमा आफुलाई उभ्याउन चाहन्छ। धनगढी पहिलो अंकको खोजीमा समेत रहने छ। यता, काठमाडौं भने लगातार दोस्रो जितको योजनामा रहेको छ। राष्ट्रिय टिमका गोलकिपर विकेश कुथुको कप्तानीमा मैदानमा उत्रने काठमाडौंले पहिलो खेलमा ललितपुर सिटीलाई हराएको थियो। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई १-० ले स्तब्ध बनाएको थियो।
काठमाडौं आज लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लन समेत चाहन्छ। नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल २५ खेल हुनेछ।

























