बैशाख १२ । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ। मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६९ रनले पराजित गर्दै चेन्नईले चौंथो जित निकालेको हो।
चेन्नईले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो। बैंगलोरका लागि देबदुत पडिकलले सर्वाधिक ३४ रन बनाए। ग्लेन म्याक्सवेलले २२ रन जोड्दा केली जेमिसनले १६ रन बनाए।
मोहमद सिराज १२ रनमा अविजित रहे। कप्तान विराट कोहली ८ रनमा आउट भए। चेन्नईका रविन्द्र जडेजाले ३ तथा इमरान ताहिरले २ विकेट लिए। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। चेन्नईका लागि रविन्द्र जडेजाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै फाप डु प्लेसिसले ५० रनको इनिङ्स खेल्दा रुतुराजले ३३ रन बनाए। सुरेश रैनाले २४ रन जोडे।
बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए। यस जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ। चेन्नईले ५ खेलमा ८ अंक जोडेको छ। बैंगलोरको यो पहिलो हार हो। बैंगलोर ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एजेन्सी


























