बैशाख १२ । काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा आज म्यानचेस्टर सिटी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ। सिटी र टोटेनहमबीचको फाइनल खेल वेम्बलीमा हुनेछ। फाइनल खेल नेपाली समय अनुसार राति सष ९ बजे सुरु हुनेछ।
आज दुबै टिम जित निकाल्दै उपाधि उचाल्ने लक्ष्यमा हुनेछन्। त्यसैले दर्शकसहितको फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ। सिटी र टोटेनहमबीचको फाइनलमा ८ हजार दर्शकलाई अनुमति दिईएको छ।
सिटीले ७ पटक काराबाओ कपको उपाधि जितेको छ। यस पटक उपाधि जितेमा सिटीले सर्वाधिक धेरै काराबाओ कप विजेता लिभरपुलसँग बराबरी गर्ने छ।लिभरपुलले कीर्तिमानी ८ पटक काराबाओ कपको उपाधि जितेको छ।
यस्तै टोटेनहमले ४ पटक काराबाओ कप जितेको छ। सिटीलाई हराएर टोटेनहम पाँचौ पटक उपाधि आफ्नो बनाउन चाहन्छ। सेमिफाइनलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गरेर टोटेनहमसँगको भेट पक्का गरेको हो। टोटेनहमले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले नै पराजित गरेको थियो। एजेन्सी


























