काठमाडौं, बैशाख १० । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गर्दै आजदेखि सचेतनामूलक अभियान सञ्चालन गरेको हो।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक सवारी साधनमा कोरोना सङ्क्रमणको सम्भावना बढी रहेकाले माक्सको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
उनले भने, “हामीले महाशाखासहित काठमाडौँ उपत्यकाका ४३ वटै ट्राफिक कार्यालयलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनेका छौँ।”
ट्राफिक प्रहरीले सडकमा बसेर पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको हो। पछिल्लो समय नेपालमा दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ। यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ उपत्यकामा १० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन्। रासस


























