बैशाख ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनिर सन्दीप लामिछानेले १०० औं टी-ट्वान्टी खेलको आँकडा पूरा गरेका छन्। काठमाडौंमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिज क्रिकेट अन्तर्गत मलेसियाविरुद्ध मैदान उत्रिदै सन्दीपले यस आँकडा पूरा गरेका हुन्।
सन्दीप टी-ट्वान्टीमा १०० खेल खेल्ने नेपालका पहिलो खेलाडी समेत बनेका छन्। यससँगै उनले टी-ट्वान्टी अन्तर्राष्ट्रियका २५ खेल खेलेका छन् भने अन्य विश्वभरीका टी-ट्वान्टीका ७५ खेल खेलेका छन्।
सन्दीपले टी-ट्वान्टी अन्तर्राष्ट्रियका २४ खेलमा ४२ विकेट लिएका छन्। त्यस्तै अन्य टी– ट्वान्टी खेलमा ९१ विकेट लिएका छन्। काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा सन्दीपले अहिलेसम्म ३ खेलमा ८ विकेट लिएका छन्। पहिलो खेलमा नेदरल्याण्ड्ससंग २ विकेट लिएका उनले मलेसियाविरुद्ध २ र नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा ४ विकेट लिएका थिए।
सन्दीपले वेष्ट इन्डिजविरुद्ध वर्ल्ड ११ का लागि खेल्दै ३१ मे २०१८ मा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। यस्तै उनले त्यसअघि १२ मे २०१८ मा तात्कालिन दिल्ली डेभरडेभिल्सका लागि रोएल च्यालेन्जर्सविरुद्ध खेल्दै टी-२० मा डेब्यु गरेका थिए।


























