काठमाडौं, बैशाख ९ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह सवा १ बजे सुरु हुनेछ। मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजीमा हुनेछ। पहिलो भेटमा ९ विकेटको जित निकालेको नेपाल उच्च आत्मबलका साथ मैदान उत्रनेछ।
नेपाल मलेसियालाई हराएर शीर्ष स्थानमा रहदै फाइनल पुग्न चाहन्छ। नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ। तर, मलेसियालाई हराएर नेपाल शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ।
सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ। नेदरल्यान्ड्स पनि फाइनल पुगिसकेको छ। मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
तर, अन्तिम खेलमा नेपाललाई हराएर मलेसिया सिरिजको सुखद अन्त्य गर्न चाहन्छ। मलेसिया नेपालसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिने दाउमा समेत हुनेछ। सिरिजको ३ खेलमा मलेसिया १ अंक जोडेको छ। मलेसियाले बुधबार नेदरल्यान्ड्ससँग बराबरी खेलेको थियो।
नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।


























