चितवन, बैशाख ८ । पुर्वी चितवनको राप्ती नगरपालिकामा रहेको बीरेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति राप्ती ८, बडहराको निर्वाचन सुरु भएको छ। राप्ती नगरपालिका ७, वीरेन्द्रनगरस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा खानेपानिको निर्वाचन अहिले भैरहेको छ। आज (बुधबार) बिहान साढे ७ बजेबाट मतदान सुरु भएको हो।
चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले (ओली समूह) को संयुक्त प्यानलबाट अध्यक्षमा चुडाप्रसाद सिलवाल (भीमसेन) को उम्मेदवारी छ भने अर्को तर्फ नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव समूह), राप्रपा र नेकपा (माले) को संयुक्त प्यानलबाट अध्यक्षमा रामचन्द्र पाठकको उम्मेदवारी रहेको छ। सिलवाल र पाठक दुवै जना कडा प्रतिस्पर्धाका साथ चुनावी मैदानमा उत्रिएका छन्।
चुडाप्रसाद सिलवाल कांग्रेस निकटका हुन् भने रामचन्द्र पाठक नेकपा (माओवादी केन्द्र) निकटका खानेपानी संस्थाका उपभोक्ता हुन्। खानेपानी संस्थाको नयाँ कार्यसमिति चयनका लागि उक्त संस्थाका १ हजार ५ सय ३९ जना उपभोक्ताले आफ्नो मताधिकार प्रयोग गर्न पाउँनेछन्।


























