काठमाडौं, बैशाख ६ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई जितका लागि १ सय १० रनको सामान्य लक्ष्य दिएको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो।
खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो। करण केसीको बलमा विनोद भण्डारीले क्याच गर्दै अनवर अरुदिनलाई ८ रनमा पेभिलियन फर्काएका थिए।
त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन्। उनी चौथो ओभरको दोस्रो बलमा टोलीको ३४ रन हुँदा ३ रनमा मैदानबाट बाहिरिए। उनी आफै गल्तिका कारण रन आउट हुन पुगे।
तेस्रो विकेटको रुपमा मलेसियाले विरन्दीप सिंहलाई गुमायो। ११ बलमा १ चौका प्रहार गरेर ६ रनमा खेलिरहेका उनी सोमपालको बलमा बोल्ड हुन पुगे। सातौ ओभरको अन्तिम बलमा विरन्दीपले स्लीप खेल्ने क्रममा बल सोझै विकेटमा लागेको थियो।
चौथो विकेटको रुपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिजलाई गुमायो। एक तिरबार विकेटको पतन भइरहेका बेला अर्को क्रिजमा डटेर मलेसियाको इनिङ्स सम्हालिरहेका उनी दिपेन्द्र सिंह ऐरीले गरेको आठौं ओभरको पाँचौ बलमा आउट भए।
उनी रिभर सुइप खेल्ने चक्करमा आसिफ शेखको हातबाट क्याच आउट हुन पुगेका थिए। अजिजले मलेसियाका लागि २७ रनको योगदान दिए। उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।
पाँचौ विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान शाफिक शारिफ पेभिलियन फर्किए। उनी लामो सट खेल्ने धुनमा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भएका थिए। उनले १३ बलमा एक चौका र छक्का प्रहार गर्दै १५ रन जोडे। त्यसपछि अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्। उनले १५ बलमा एक छक्कासहित २० रन जोडेका थिए।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएका हुन्। त्यस्तै सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १/१ विकेट लिए।


























