मुम्बई, चैत्र ३१ । बलिउडमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दो छ। एकातर्फ फिल्महरुको रिलिज मिति सरिरहँदा सुटिङ भइरहेका फिल्महरुको काम पनि रोकिने क्रम बढेको छ।
बलिउड लाइफमा प्रकाशित समाचारअनुसार शाहरुख खानको निर्माणाधिन फिल्म ‘पठान’को सेटमा कोरोनाको प्रवेश भएको छ। जसकारण शाहरुख सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
फिल्म ‘पठान’को सेटमा एक सदस्यलाई कोरोना संक्रमण भएको छ। जसकारण यशराज ब्यानरको यो ठूलो बजेटको फिल्मको सुटिङ रोकिएको छ।
शाहरुखले कोरोना टेस्ट गरेका छन् या छैनन् केही खुल्न सकेको छैन। यद्यपि यशराज ब्यानरले आफ्नो सुटिङ सेटमा कोरोना देखिएको बारे कोही बोलेको छैन।
कोरोना भाइरसका कारण केही दिन अघि फिल्म ‘पठान’को सेट निर्माणको काम रोकिएको थियो। महाराष्ट्रमा अचानक कोरोनाको मामला केही समय यता ह्वात्तै बढेको छ। जसकारण फिल्म सिटीमा बनिरहेको ‘पठान’को एक सेटको निर्माण काम रोकिएको छ।
यो फिल्मको सुटिङका लागि केही केही दिन अघि फिल्म युनिट दुबई पुगेको थियो। त्यहाँको छायांकनको काम सकेपछि उनीहरु मुम्बई फर्किएका थिए। एजेन्सी


























