चितवन, चैत्र २८ । वैज्ञानिक समाजवादी युवा लिग नेपालको आयोजनामा महाकाली मेची युवा जागरण अभियान सुरु भएको छ।
अभियानको मूल नारा ‘दलाल पुजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्न उठौं वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको निम्ति संघर्षमा जुटौं’ रहेको छ । २१ गते दोधारा चाँदनीमा सुरु भएको अभियान अत्तरिया, धनगढी, टिकापुर, भुरी गाउँ, कोहलपुर, नेपालगन्ज, भालुबाङ, बुटवल हुँदै आज चितवन आईपुगेको हो।
भरतपुरको चौबिसकोठीबाट सुरु भएको मोटरसाईकल र्यालीमा करिब एक सय वटा मोटरसाईकलको सहभागिता रहेको थियो। र्याली हाकिम चोक, पारस बसपार्क, मालपोत चोक हुँदै रिङरोड परिक्रमा गरि पुलचोकमा पुगि कोणसभामा परिणत भएको कोणसभामा वैज्ञानिक समाजवादी युवा लिगका केन्द्रीय महासचिव श्याम कुँवर जानकारी दिए।
दलाल संसदीय पुजीवादको विरुद्ध वैज्ञानिक समाजवाद निर्विकल्प भएको र यस सम्बन्धि जागरण फैलाउन यो अभियान आयोजना गरिएको केन्द्रीय महासचिव कुँवरले बताए।
देशमा व्याप्त भ्रष्टाचार र लुटतन्त्रको जरो दलाल संसदीय पुजीवादी व्यवस्था भएको र यसको समूल अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नुपर्ने केन्द्रीय अध्यक्ष लच्छुराम विश्वकर्माले बताए।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विजय विश्वकर्माले कार्यक्रम संचालन गरेका थिए।



























