पोखरा, चैत्र २८ । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा गर्दैछन्। दिउँसो साढे २ बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन्।
फाइनल अघि दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्। संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउँछन्।
संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो। पटक पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो।
अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो। अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो। अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ। यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।


























