काठमाडौं, चैत्र १४ । आज विश्व नेवाः दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् २०१८ देखि मार्चको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउन सुरु गरिएको हो।
दिवसका अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरको आयोजनामा वसन्तपुर डबलीमा विशेष कार्यक्रम गरिँदैछ। कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने चौथो विश्व नेवाः दिवस, नेपालका मुख्य संयोजक सुरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए।
नेपाल र चीन दुवै मोहडाबाट सगरमाथाको सफल आरोहण गरी वर्ल्ड बुक अफ रेकर्डमा नाम राख्न सफल पत्रकार कल्पना महर्जनलाई पनि कार्यक्रममा सम्मान गरिने छ। यसैगरी, ‘विश्वका नेवारः चुनौती र अवसर’ विषयमा आयोजना गरिने बहस कार्यक्रममा नेवार अगुवाहरू मल्ल के सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा। महेशमान श्रेष्ठ प्रमुख वक्ताका रुपमा रहनेछन्।
कार्यक्रममा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरूको तस्वीर प्रदर्शनी, नेवाः परिकारको स्टल, सांस्कृतिक कार्यक्रम र मञ्चका विविध गतिविधिहरू समेटिएको स्मारिकाको पनि विमोचन गरिने जनाइएको छ।


























