चैत्र १० । घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ। क्राइसचर्चमा मंगलबार दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्डले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो।
बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले ४८ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो। न्युजिल्याण्डको जितमा कप्तान टम लाथमले शतकीय इनिङ्स खेले। उनले १०८ बलको सामना गर्दै १० चौकाको मद्दतमा अविजित १ सय १० रन बनाए।
त्यस्तै डेभन कनवेले ७२ रनको योगदान दिए। उनले ९३ बलमा ७ चौका प्रहार गर्दै ७२ रनको अर्धशतकीय इनिङ्स खेले। जेम्स निसमले ३०, मार्टिन गुप्ताले २०, हेन्री निकोलसले १३ रनको योगदान दिँदा ड्यारिल मिचेल १२ रनमा अविजित रहे। बलिङतर्फ मुस्ताफिजुर रहमान र मेहेदी हसनले समान दुई–दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ किवेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो। बंगलादेशका लागि तामिम इकवलले सर्वाधिक ७८ रन जोडे। उनले १०८ बलको सामना गर्दै ११ चौकामा ७८ रनको अर्धशतकीय इनिङ खेलेका हुन्।
त्यस्तै मोहम्मद मिथुनले अविजित ७३ रन जोडे। उनले ५७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७३ रन जोडे। मुस्फिकर रहिमले ३४, सौम्य सरकारले ३२ र महमुदुल्लाहले १६ रन जोडे। बलिङतर्फ मिचेल स्टानरले दुई विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्ट, म्याट हेनरी र केली जेमिसनले एक एक विकेट लिए। एजेन्सी


























