नारायणगढ । चितवनको नारायणगढस्थित बालकुमारी माविका विद्यार्थीले विद्यालयकै शिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै शिक्षकहरुले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको जनाएका छन्। विद्यालयका शिक्षकमाथि विद्यार्थीहरुबाटै अमानवीय व्यवहार गरेको भन्दै विद्यालयमा शान्तिपूर्णरुपमा पठनपाठनको वातावरण नभएसम्म विद्यालय बन्द रहने प्रधानाध्यापक नारायणबहादुर थापाद्वारा जारी सूचनामा उल्लेख छ। ‘२०७७ चैत ४ गते विद्यालय परिसरमै शिक्षकमाथि भएको अमानवीय व्यवहारकाे घाेर भर्त्सना गर्दै विद्यालयमा शान्तिपूर्णरुपमा पठनपाठनको वातावरण नभएसम्म अनिश्चितकालीनरुपमा विद्यालय बन्द गर्ने व्यहाेरा सूचित गरिन्छ,’ जारी सूचनामा भनिएको छ।
विद्यालयका शिक्षकहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनकै उपस्थितिमा आफ्ना शिक्षक सहकर्मीमाथि शारिरीक चाेटपटक लाग्ने गरी भएको दुर्व्यवहारप्रति आपत्ति जनाउँदै दाेषीमाथि कानुनी कारवाही नभएसम्म शिक्षक कर्मचारी उपस्थित हुन नसक्ने जनाएका छन्। विद्यालयकाे भाैतिक संरचना ताेडफाेड गर्नुका साथै शिक्षकमाथि कालाे पदार्थ माेविल दलेर अमानवीय व्यवहार गरेर शिक्षक कर्मचारीकै मानमर्दनमाथि आघात पुगेकाे शिक्षक कर्मचारीहरुकाे ठहर छ।
विद्यालयका एक शिक्षकमाथि विद्यार्थीले कालाे पदार्थ (माेविल) छ्यापेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। शिक्षकमाथि याैन हिंसाको आराेप छ।


























