काठमाडौं, फागुन २६ । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौं मेयर-११ लाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो। पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए। ५५ बलमा उनले ४ चौका प्रहार गरे।
यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए। दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए। काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३/३ विकेट लिए।
आज पुलिस तेस्रो जितको खोजीमा रहेको छ। पुलिस लिग चरणको अन्तिम खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। पुलिसले ३ खेलमा ४ अंक जोडेको छ। पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो। दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो। काठमाडौंको यो तेस्रो खेल हो। काठमाडौंले २ खेलमा २ अंक जोडेको छ।
पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो। आज काठमाडौं पुलिसलाई हराएर फाइनल पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ। पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।


























