काठमाडौं, फागुन २५ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा श्री कुमारी क्लबले फराकिलो जित निकालेको छ। मंगलबार भएको खेलमा श्री कुमारीले टुसाल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा श्री कुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गरे। यस्तै सन्तोष कुमार सिंह र विवेक पुनले एक एक गोल गरे। खेलको ११ औं मिनेटमा सन्तोषले गोल गर्दै श्री कुमारीलाई १-० को अग्रता दिलाएका थिए।
२४ औं मिनेटमा विवेकले गोल गर्दै श्री कुमारीलाई २-० को अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। त्यसपछि खेलको ६७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै श्री कुमारीलाई ४-० को जित दिलाए।
जितसँगै श्री कुमारीले ११ खेलमा १४ अंक जोडेको छ। श्री कुमारी छैटौं स्थानमा रहेको छ। टुसाल ९ अंक जोडेर दशौँ स्थानमा रहेको छ।


























