सुर्खेत, फागुन २५ । कर्णाली नदीमा हाम्फालेर आत्महत्या गर्ने महिलासहित तीन सन्तानको शव फेला परेको छ। दैलेख आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुखी बडुवालले आफ्ना ३ छोरी र १ छोरासहित कर्णाली नदीमा हाम्फालेकी थिइन्।
उनीहरु आइतबार राति घरबाटै बेपत्ता भएका थिए। बेपत्तामध्ये दुई छोरी वर्ष १५ की कल्पना र वर्ष १२ की सरिता बडुवालको हात बाँधेको अवस्थामा सोमबार साँझ कर्णाली नदीमा शव भेटिएको थियो। आमा सुखी र वर्ष ८ का ललितको शव आज (मङ्गलबार) दिउँसो कर्णाली नदीमै भेटिएको हो।
५ वर्षीया रजनी भने अहिलेसम्म फेला परेकी छैनन्। उनको खोजी भइरहेको जिल्ला प्रशासन दैलेखले जनाएको छ। घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित कर्णाली प्रदेश प्रहरी प्रमुखको उपस्थितमा गोताखोर टोलीले खोजी गरिरहेको छ।
सनाखत भएका ४ जनाको शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन लगिएको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए। सुखीका श्रीमान् मानसिंह बडुवालले श्रीमतीसहित परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि परिवारले नै संयुक्त आत्महत्या गरेको बताइएको छ।


























