काठमाडौं, फागुन २२ । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टिम एपीएफ क्लबलाई जितका लागि २ सय ३६ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनायो।
आर्मीका लागि रोहित पौडेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान विनोद भण्डारीले ४२ रन बनाए। लोकेश बमले ३० रन जोड्दा सोमपाल कामीले २८ रन जोडे। भिम सार्कीले १८ र राजेश पुलामीले १७ रन बनाए। एपीएफका लागि अविनास बोहोराले ३ विकेट लिए। यस्तै अमर रौटेला र भुवन कार्कीले २/२ विकेट लिए।
आज दुबै टिम जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन्। राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन्।


























