बर्लिन, फागुन १९ । जर्मनीका चान्सलर एन्जेला मर्केलले कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई खुकुलो पार्दै जाने योजना सार्वजनिक गरेकी छन्।
चान्सलर मर्केलले कोभिड–१९ विरूद्धको खोप उपलब्ध भइसकेको र सङ्क्रमण दरमा पनि विस्तारै कमी आएको भन्दै आंशिक लकडाउनका कार्यक्रम मङ्गलबारदेखि विस्तारै खुकुलो बनाउन सरकार र विज्ञहरूसँग प्रस्ताव गरेकी छन्।
उनले अर्को हप्तादेखि घरपरिवारबीच अझ बढी सामाजिकरणको अनुमति दिन चाहेको प्रस्ताबमा उल्लेख गरिएको छ। पाँच जनाभन्दा बढी जम्मा नहुने गरी मार्च ८ देखि दुई घरपरिवारबीच भेला हुन पाउने व्यवस्था गरिने प्रस्तावमा उल्लेख छ। प्रस्तावमा पुस्तक पसल, फूल पसल तथा बगैँचा केन्द्रहरूलाई छिट्टै पुनः सञ्चालनका लागि अनुमति दिइने उल्लेख गरिएको छ।
प्रस्तावलाई जर्मनीका १६ क्षेत्रीय सरकार प्रमुखले अनुमोदन गर्न बाँकी रहेको र मर्केल र उनीहरूबीच छलफलको तयारी भएको छ। एजेन्सी


























