चितवन, फागुन १८ । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै…’ बोलको गीत सार्वजनिक भएको छ। चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो। विशाल इन्टरटेनमेन्ट नामक युटुबमार्फत गीत सार्वजनिक गरिएको हो।
गीतमा मायामा धोका खाएको प्रेमीले कल्पिएका कुराहरू समावेश गरिएको छ। गीतका रचनाकार घिमिरेका अनुसार एउटा प्रेमीकाले धोका दिएको प्रेमी फेरि अर्की प्रेमिकाले राखेको प्रेम प्रस्तावलाई अङ्गीकार गर्नुअघि कल्पना गरेका कुराहरूलाई गीतमा समेटिएको छ।
विभिन्न पुस्तक प्रकाशन गरिसकेका घिमिरेले ‘उनले जस्तै…’ उत्कृष्ट गीत रचना गरेकाछन्। घिमिरेको ‘मेरो बैँशको क्यालेण्डर’ कविता सङ्ग्रह र ‘मौनता’ उपन्यास प्रकाशित भइसकेका छन्। ‘सुनको टप’ नामक कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ।
सार्वजनिक गीतको भिडियो राज केसीको निर्देशन तथा रमेश थापाको सम्पादनमा तयार गरिएको घिमिरेले जानकारी दिए। रासस
https://www.youtube.com/watch?time_continue=5&v=sD1UFSDO3So&feature=emb_logo


























