फागुन १८ । चिनियाँ स्मार्टफोन तथा दूरसञ्चार पूर्वाधार कम्पनी ह्वावेले अटो प्रविधिमा लगानी गर्ने भएको छ। आफ्नै ब्राण्डमा इलेक्ट्रिक भेहिकल उत्पादन नगरे पनि त्यस्ता गाडीका लागि आवश्यक पर्ने प्रविधिमा ह्वावेले लगानी गर्ने भएको हो।
‘हामी कार उत्पादन गर्ने कम्पनी होइनौं,’ अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्ससँगको कुराकानीमा ह्वावेले भनेको छ, ‘डिजिटल कारको लागि आवश्यक कम्पोनेन्ट उत्पादन गर्ने कुरामा भने तयारी गरिरहेका छौं। ’
अमेरिका लगायतका विभिन्न देशले लगाएको प्रतिबन्धका कारण असहज परिस्थितमा रहेको ह्वावे विस्तारै ग्राहक केन्द्रित अन्य प्रडक्ट उत्पादनमा लागिरहेको छ।
यसैबीच कम्पनीले आफ्नै ब्राण्डको कार उत्पादन गर्ने कुरा बाहिरिएको थियो। यो विषयमा रोयटर्सले गरेको प्रश्ननमा कम्पनीले प्रविधि आफ्नो दायर भएकाले त्यसैभित्र रहेर इलेक्ट्रिक कारका लागि आवश्यक पर्ने प्रविधिको विकास गर्ने जवाफ दिएको हो।


























