आइतबारको दिन. दिउँसो दुई बजे म थकित भएर ड्युटीमा हस्पिटलको इमर्जेन्सी पुग्छु। पुग्नेबित्तिकै सिस्टरले बोलाउनुहुन्छ, ‘डक्टर हेर्नु न एउटा दिदी आउनुभा’को छ एकदमै धेरै दुखेर छटपटाएर। पहिला पनि हजुरले हेर्नु भा’को थियो रे, हजुरलाई नै कुरिरहनुभएको छ।’ म हतार हतार बेड्साइड पुग्छु। दुई चार पटक हेरेको बिरामी विगत एक महिनादेखि, अति नै टाउको दुखेर गाह्रो भयो भनेर। सिनियर डाक्टरले माइग्रेनको औषधि पनि सुरु गर्नुभएको रै’छ। मलाई देख्ने बित्तिकै उहाँ आतिएर मेरो हातमा च्याप्प समाउँदै रुन थाल्नुभयो, ‘डाक्साब मलाई गाह्रो भयो, एक्दमै गाह्रो भयो। अब म मर्छु मलाई क्यान्सर रोग लागेझैं लाग्छ। प्लिज राम्रोसँग हेरिदिनुस् न।’
‘दिदी म आइसकें त। नआतिनुस्। लामो सास लिनुस्। बरु मलाई यो चाहिँ भन्नुस् त हजुरलाई ठ्याक्कै दुखेको कहाँनेर हो? टाउको दुखेर यस्तो भा’को हो भने एउटा एमआरआई गरौं, केही छ भने राम्रोसँग देखिन्छ। पेट दुखेर गाह्रो भा’को हो भने एउटा पेटको सिटिस्क्यान गरौं। अनि मात्रै रोग पत्ता लाग्छ। रोग पत्तै नलागी यसरी छट्पटाएर मात्रै दुखाई कम गर्ने, केही समय निदाउने औषधि हालेर मात्रै हुन्न दिदी। अब रोग पत्ता लगाएर पर्मानेन्ट सोलुसन खोज्नुपर्छ,’ हात समाउँदै म सान्त्वना दिने प्रयास गर्छु।
‘डाक्टर म मर्छु होला अब त, लौ न केही गर्नुस्। आज नै मेरो अन्तिम दिन हो, मलाई क्यान्सर लागेको छ। कि त मलाई उपचार गर्नुस्, कि त मलाई सुई लाएर भए पनि मारिदिनुस्, म यस्तो गाह्रोसँग बाँच्न सक्दिनँ,’ उनको यो आग्रह विग्रह सुनिरहँदा मलाई लाग्यो, एकपटक मनोचिकित्सकको ओपीडीमा पठाइदिउँ। तर यस्तो छट्पटीमा रहेको बिरामी कसरी पठाउँ? अन्तत: म विवश भएर सिस्टरलाई निर्देशन दिन्छु, ‘सिस्टर क्यानुला खोलेर एउटा मिडाजोलाम हाल्दिनू, केहीबेर आराम गर्नुहुन्छ, निदाउनुहुन्छ। अनि अलि ठीक भएपछि साइकियाट्रीक ओपीडी पठाइदिनू।’
त्यसपछि सिस्टरले मिडाजोलाम हालेपछि केहीबेर निदाएजस्तो गर्छिन्। उनको ९ महिनाको बच्चा पनि छ। बच्चालाई उनीसँगै आएकी उनकी दिदीले च्यापेर बसिरहेकी छन्। दिदीलाई देखेपछि म उनको ‘हिस्ट्री’ कोट्याउन थाल्छु। ‘दिदी उहाँलाई पहिला केही भएको थियो? उहाँको श्रीमान् र परिवारका अरु सदस्य कहाँ हुनुहुन्छ? उहाँको व्यक्तिगत तथा पारिवारिक जीवनमा कुनै मानसिक तनाब या दबाब छ कि? नत्र यति राम्रो मायालाग्दो छोरो छ। आधा रोग त यही छोरोलाई हेरेर पनि ठीक हुन्छ। पढेलेखेको मान्छे, राम्रै पदमा जागिर खानुहुँदोरहेछ। आखिर उहाँको समस्या चाहिँ के हो? कुनै देखिने शारिरीक रोग भए त पटकपटक यस्तो नहुनुपर्ने।’
‘खै डाक्साब त्यस्तो त केही लाग्दैन, ज्वाईँले अति नै माया गर्नुहुन्छ। त्यति ठूलो इज्जत प्रतिष्ठा भएको परिवार छ बिहेपछि बहिनी एकदमै खुसी थिई। त्यस्तो तनाबसनाब केही भएजस्तो लाग्दैन,’ उनकाे जवाफ आउँछ, ‘उनीहरुको जोडी त सबैको लागि नमूना हो। तर विगत एक महिनादेखि खाली मलाई क्यान्सर लागेको छ मात्रै भन्छिन्। बेलाबेलामा यसरी नै छट्पटाउँछिन्। अनि म मरेपछि मेरो छोरो हेर्दे है? मात्रै भन्छिन्। मलाई लाग्छ उनको शरीरमै कुनै रोग छ। एकपटक क्यान्सरको सबै जाँच गर्न मिल्दैन? यहाँ नहुने भए म काठमाण्डाैं या कतै लगुँ कि!?’
‘दिदी क्यान्सर या जुनसुकै राेग नै किन नहोस्, बिरामीले भन्दैमा भइहाल्ने हैन। तर, केही दुखाई क्यान्सर भएजस्तो गरी सहनै नसक्ने पनि हुन सक्छन्। तर यो उमेरमा शरीरको कुन भागको क्यान्सर भनेर उपचार गरौं मैले यत्तिकै? ठीक छ, अब हजुरलाई क्यान्सरकै जाँच गर्न मन छ भने म टाउकोदेखि खुट्टासम्म सबै भागको भित्री कुरा हेर्न चाहिँ सक्छु।’ बिरामीको दिदीलाई पनि सान्त्वना दिँदैछु।
फेरी मनमनै सोँच्छु, ‘ह्या रिफर गरेर पठाइदिउँ कतै, मैले उपचार गर्न सक्दिनँ। हैन, यो कुनै मानसिक रोग नै हो हुन त। उहाँकै दिदी त्यो मान्न तयार हुनुहुन्न। तर चम्किने वस्तुहरु सबै सुन हुँदैनन्। खुसी देखिने र खिसिक्क हाँसेर हिँड्नेहरु पनि सबै खुसी नहुन सक्छन्। त्यसैले एकचोटी उहाँलाई एकान्तमा राखेर प्राइभेसी मेन्टेन गरेर मैले एकचोटी डिटेल हिस्ट्री लिनैपर्छ के कति निकाल्न सकिँदोरहेछ।’
एकछिनपछि म फेरि उहाँको बेड नजिक पुग्छु। उहाँको दिदीलाई बाबु लिएर एकछिन बाहिर जान अनुरोध गर्छु। र, फेरि सोध्छु, ‘दिदी हजुरलाई कुनै मानसिक तनाब छ र? त्यस्तो राम्रो घर परिवार, छोरो अनि त्यति राम्रो जागिर छ। पद प्रतिष्ठा छ। तैपनि मान्छेको जीवन हो सबैकुरा पर्याप्त त नहुन सक्छ। कुनै तनाब या केही छ भने प्लिज भन्नुस् न मलाई मात्रै। म यो कुरा बाहिर कसैलाई पनि भन्दिनँ।’ मेरो प्रश्न सकिन नपाउँदै रिसालु भएर भन्नुभयो, ‘त्यस्तो केही हैन ममाथि शंका नगर्नुस् डाक्टर। मेरो श्रीमान् र घरपरिवार एकदमै स्वर्ग छ। मलाई कहीँकतै कुनै तनाब नै छैन। म आफैँमा एकदमै भाग्यमानी नारी हुँ। बस् अहिले क्यान्सर लागेर मात्रै मलाई गाह्रो भएको छ। तपाईँलाई विश्वास लाग्छ? मेरो श्रीमानको मोबाइल, फेसबुक, इन्स्टा र दैनिक स्टोरी भरी मेरो मात्रै फोटा छ्न्। मलाई एकदमै माया र केयर गर्नुहुन्छ। तपाईं मेरो उपचार गर्न सक्नुहुन्न भने सक्दिनँ भन्नुस्। तर बिना कारण मेरो मानसिक स्वास्थ्यमाथि प्रश्न नउठाउनुस्।’
यति भनिरहँदा उहाँसँग मेरो आई कन्ट्याक्ट छुटिसकेको थियो। उनका आँखा रसाइसकेका थिए। र, मैले सहजै अनुमान लगाउन सकेँ, उनी आफ्नै जीवन या जीवनका केही पाटासँग खुसी छैनन्। र त्यही तनाबकै कारण आज उनको यो हालत भएको हुन सक्छ। मैले फेरि सान्त्वना दिँदै उनको ढाड सुम्सुम्याउदै भनें, ‘दिदी नआतिनुस्, म बुझ्छु। हरेक कुरा मानसिक घाउहरु शारिरीक घाउजस्ता देखिने हुँदैनन्। तर सधैं-सधैं दुखिरहन्छन्, जुन देख्नेलाई हैन दुख्नेलाई मात्रै थाहा हुन्छ।’
यति भन्न नपाउँदै उनी मलाई च्याप्पै अङ्गालो हाल्छिन्। र, रुन थाल्छिन्, ‘हो डाक्टर मेरो श्रीमान् नै मेरो जीवनको सबैभन्दा ठूलो क्यान्सर हो, जसलाई म न आफ्नो जीवनबाट हटाउन सक्छु, न राखेर नै खुसीसँग बाँच्न सक्छु। त्यसपछि उनको बिहेअघिका कुनै पाटा कोट्याउने कोसिस गरिनँ। तर बिहेपछि पनि म उसको मायामा डुब्दै गएँ। तर ऊ अरु कसैको मायामा डुब्दै गयो। जति-जति ऊ अरुको मायामा डुब्दै गयो, त्यति नै धेरै माया मलाई पनि देखाउँदै गयो। र मैले कुनै शंका गर्ने आधार नै भएन। कसैले तेरो श्रीमानलाई मैले बाहिर यसरी देखेथें भन्दा पनि म पत्याउँदिनथें। यति केयरिङ यति माया, यति आत्मियता थियो। तर मलाई के थाहा त्यो सबै उता उसको अरु सम्बन्धहरु ढाकछोप गर्नकै लागि थियो भनेर। बाहिर अरु केटीहरुलाई समेत उसले बन्धक बनाएर राखेको रै’छ। उसले मन पराएको केटी कोही अरु केटा साथी या सहकर्मी साथीहरु हिँड्दा उसलाई पनि त्यस्तै मानसिक र शारिरीक यातना दिएर राखेको रै’छ।’
‘एक विवाहीत पुरुष त्यतिमात्र नभई छोराछोरीको बाउ भएर पनि बाहिर अरु केटी ओगटेर राखेको प्रमाण म आफैँले भेटेँ। आखिर केको लागि? सायद ऊ मेरो लागि मात्रै नभई अरु पनि धेरैको लागि क्यान्सर बनेको छ। म यो कुरा चाहेरै पनि कसैलाई भन्न सक्दिनँ। न त म उनलाई छाडेर जान सक्छु। किनकि मलाई मेरो बाबा आमाको मन दुख्छ भन्ने डर छ। घर परिवारको इज्जत अनि सन्तानको लागि पनि म हरेक दिन आफैँसँग लडेर आफ्नै मनको युद्धको शिकार भएकी छु। अस्ति भर्खर मात्रै पनि म जस्तै कुनै नारीलाई उसले यति तल्लो स्तरको शब्द प्रयोग गरेर लेखेको म्यासेज देखें।’
‘कारण ती नारी सायद कुनै सहकर्मी केटा साथी या उनको प्रेमीको जन्मदिन मनाइरहँदा मेरो श्रीमानले देखेछ। र, यति लेखेको छ कि उसकाे श्रीमतीभन्दा धेरै अधिकार जमाउन खोजेको छ। उनलाई बिनाकारण यौनकर्मी या कुनै व्यावसायिक बेश्या भनेर सम्बोधन गरेको छ। एउटा विवाहित पुरुष, अझ सन्तानको बाउ भएर त्यस्तो कुरा गर्नु जायज छ र? ठीक छ, यदि त्यो केटी त्यस्तै भए पनि उसलाई के को आपत्ति? त्यो उसको व्यक्तिगत जीवनको कुरा हो नि हैन? उसले चाहिने कुरामा मसँग अधिकार जमाउन खोज्नु अलग पाटो हो। तर परस्त्रीसँग यस्तो म कसरी सहूँ? मैले प्रसवपीडा सहिरहँदा उसलाई मेरोभन्दा बढी चिन्ता कुन केटी कोसँग हिडिरा’छ भन्ने थियो। म उसको सन्तान हुर्काउन व्यस्त भइरहँदा ऊ अरु केटीहरुको व्यक्तिगत जीवनमा हदभन्दा बढी हस्तक्षेप गर्न व्यस्त थियो, त्यो पनि यसरी कि आफ्नो लिगल श्रीमतीभन्दा बढी उसको जीवन आफ्नो पेवा सम्झेर। यो सब कसरी सहन सक्छु मैले? कि थाहा पाएर पनि नपाएझैं गरी बसूँ? या त्यसलाई छोडेर अलग भएर बसूँ? तर कसरी घरपरिवार, समाज अनि बाबा आमाको इज्जतको सवाल छ। कुनै दिन तपाईँले नै मलाई भन्नुभएको थियो क्यान्सर लागेपछी यसले जीवनभर दुःख दिइरहन्छ। काटेर फालौं आफ्नै शरीर हो दुख्छ, नफालौं भित्रभित्रै फैलिँदै गएर एकदिन जीवन सखाप पारेरै छोड्छ। त्यसैले म यस्तो नदेखिने क्यान्सरबाट पीडित छु डाक्टर।’
उनका यी कुराहरु सुनिरहँदा मेरै आँखा टिल्पिलाउन थालिसकेका थिए। तर म आफैंलाई कन्ट्रोल गर्छु किनकि एउटा डाक्टर भएको नाताले मैले भावनामा बग्नुहुँदैन। मैले फेरि सम्झाउँदै भन्छु, ‘त्यही भएर होला नारीलाई सहनशील हुन प्रकृतिले पनि धेरै क्षमता दिएको छ। तर सबैभन्दा ठूलो कुरा आफू र आफ्नो खुसी हो। जे कुराले तपाईँलाई खुसी दिन्छ, तपाईं त्यही गर्नुस्। जब तपाईं खुसी र स्वस्थ जीवन बाँच्न सफल हुनुहुन्छ त्यसपछि मात्रै कुरा आउँछ तपाईंको घरपरिवार, आमा, बाबा, सन्तान, आदि सबै।’
यति भनिरहँदा म मनमनै सोच्छय, ‘सायद यही होला पुरुषप्रधान समाजको उपज। उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्। समाजमा यस्ता क्यान्सर बोकेर बाँचेका नारीहरु कति होलान्, जो बाहिर आउन नसकी भित्रभित्रै जलिरहेका छन्। छिट्टै पग्लिने र भावनामा बगिहाल्ने नारीस्वभावको अनावश्यक फाइदा उठाएर कति नारीहरु शारिरीक तथा मानसिक हिंसाका शिकार भएका होलान्। पुरुषले चाहिँ पत्निब्रता नभई जतिजनासँग जस्तो सम्बन्ध राख्दै हिँडे पनि नारीले स्वीकार्नु पर्ने? अनि नारीले चाहिँ एकदिन कुनै पुरुषसँग चोखो मनले हिँड्दा पनि आफ्नो चरित्रसँग जाेडिएको प्रश्नको तीखो प्रहार सुनिरहनुपर्ने? कहिलेसम्म? जीवन सम्झौता हो। विवाह र सम्बन्ध पनि सम्झौता हो। तर त्यो सम्झौताको सीमा कति हो? अनि यसरी आफ्नै मनसँग यो लेवलको युद्ध लडेर बाँचेका नारीहरुलाई कसले सुन्छ? हामी फेसबुकमा फलानोले त आफ्नो श्रीमतीसँगको फोटो राखिरहन्छ। कति माया गर्दोरै’छ भनेर मुल्याङ्कन गर्छौं।
श्रीमतीहरु पनि कति धेरै ठाउँमा साँघुरो सोचाई राखेर मेरो श्रीमानले फेसबुक र इन्स्टामा दिनदिनै मेरो फोटो राखिदेओस् भन्ने चाहन्छौं, त्यसलाई नै माया सम्झिन्छौं। र, भित्रभित्रै सम्बन्ध खोक्रो भइसकेको थाहै पाउँदैनौं। जसरी नारीहरु सबै अन्याय थाहा पाएर पनि माइतीघर बाबा आमाको इज्जतको लागि भनेर भित्र तनाबले जलेर पनि बाहिर खुसीको नाटक गर्छौं, त्यसैगरी कतिपय पुरुषहरु पनि घरभित्र वनावटी मायाको नाटक गरेर बाहिर आकर्षित भइरहेका हुन्छन्। तसर्थ यस्ता नदेखिने क्यान्सररुपी सम्बन्धहरुले बारबार घोचिरहँदा थुप्रै दुर्घटनाहरु पनि निम्तिएका छन्।
अन्तमा,
म आफैं लाचार महसुस गर्छु, शरीरको क्यान्सार पत्ता लगाउन जति सजिलो छ, मनको क्यान्सर पत्ता लगाउन त्यति सहज छैन रै’छ। वास्तवमा उनले आफ्नो रोगबारे जुन मूल्याङ्कन गरेकी थिइन्, उनी केही हदसम्म सही नै थिइन्। तर बिडम्बना शरीरको क्यान्सर उपचार गर्ने जति स्रोत साधनहरु छन् मनको क्यान्सरको लागि ती सबै छैनन्। र, उपचार निकै कठिन पनि छ। त्यसैले त्यसको रोकथाम नै सबैभन्दा उत्तम उपाय हो। र भोलिका दिनमा यस्ता अदृश्य तर गम्भीर क्यान्सरको बिरामीहरु नभेटिऊन्।
(लेखक हेटौंडा अस्पतालमा कार्यरत छिन्।)
























