फागुन १४ । अस्ट्रेलियाको हावाई नियामकले बोइङ ७३७ म्याक्स मोडलको विमानमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। पछिल्लो दुई वर्षयता अस्ट्रेलियामा यो मोडलको विमानको उडानमा प्रतिबन्ध लगाइँदै आएको छ। प्रतिबन्ध हटेसँगै यो मोडलको विमानमा प्रतिबन्ध हटाउने अस्ट्रेलिया एसिया प्यासिफिकको पहिलो मुलुक बन्नेछ।
अस्ट्रेलियाको सिभिल एभिएसन सेफ्टी अथोरिटीका प्रमुख ग्राइमे क्रफोर्डले भने, ‘हामी विश्वस्त छौं कि यो विमान सुरक्षित छ।’ अस्ट्रेलियाका कुनै पनि एयरलाइन्स कम्पनीले यो मोडलको विमान प्रयोग गर्दैनन्। तर, फिजी एयरवेज र सिंगापुर एयरलाइन्सले भने यो मोडलको विमानबाट अस्ट्रेलियाको उडान भर्दै आएका छन्।
यद्यपि कहिलेबाट यो विमानलाई अनुमति दिइने भन्ने खुलाइएको छैन। अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि भन्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय भ्रमणमा रोक लगाएको छ। त्यस्तै फिजी र सिंगापुर एयरलाइन्सले पनि घरेलु मुलुकबाट विमानको उडानको लागि अनुमति लिनुपर्नेछ। एजेन्सी


























