फागुन १३ । घरेलु टोली न्युजिल्याण्डले दोस्रो टी-२० मा खेलमा अष्ट्रलियामाथि रोमाञ्चक जित हात पार्दै ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ। बिहीबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ४ रनले पराजित गरेको हो।
डुनेदिनस्थित युनिभर्सिटी ओभरमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१९ रन बनाएको थियो। जवाफमा २२० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा ८ विकेट गुमाएर २१५ रन बनायो।
अष्ट्रेलियालाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा १० रन मात्र जोड्न सक्यो। अन्तिम ओभर मात्र बलिङ गरेका न्युजिल्याण्डका जेम्स निसमले पहिलो बलमा ड्यानिएल साम्स र पाँचौ बलमा मार्कुस स्टोइनिसलाई आउट गरेका थिए।
११३ रन हुँदा ६ विकेट गुमाएको अस्थामा स्टोइनिस र साम्सले सातौँ विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए। स्टोइनिसले सर्वाधिक ७८ रन बनाए। उनले ३७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे। यस्तै जोस फिलिपले ४५ र साम्सले १५ बल खेल्दै २ चौका र४ छक्का मद्दतमा ४१ रन जोडे।
न्युजिल्याण्डका मिचेल सान्टनरले ४ जेम्स निसमले २ विकेट लिए। त्यसअघि ओपनर मार्टिन गुप्टिलले ९७ रन बनाउँदा न्युजिल्याण्डले उच्च स्कोर बनाएको थियो। गप्टिलले ५० बल खेल्दै ६ चौका र ८ छक्का मद्दतमा ९७ रन बनाए। यस्तै कप्तान मेन विलियम्सनले ५३ र जेम्स निसमले अविजित ४५ रन जोडे। निसमले १६ बल खेल्दै १ चौका र ६ छक्का प्रहार गरे।
ओपनर टिम सेइफर्ट ३ रन बनाएर आउट भएपनि गप्टिल र विलियमसनले दोस्रो विकेटका लागि १३१ रनको साझेदारी गरे। अष्ट्रेलियाका केन रिचर्डसनले ३ विकेट लिए।


























