चितवन, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा अदालतसम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भट्टराईले ओलीलाई पदमा बसिरहन नैतिक अधिकार नरहेको समेत टिप्पणी गरेका छन्।
‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?’ शनिबार राति भट्टराईले गरेको ट्वीटमा भनेका छन्, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिङ गर्ने हो ? अदालतमाथिको दबाब पुष्टि भएन र ?’
ओलीले विराटनगरमा आफूपक्षीय भेलालाई सम्बोधन गर्दै अदालतले आफ्नो पक्षमा फैसला गर्ने र नगरे जनताले आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनले सभामा भनेका थिए ,‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन।’
ओलीको यस्तो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ। उनले खुलेआम रुपमा अदालतलाई चेतावनी दिएको भन्दै उनको विरोध भएको हो।


























