चितवन । अस्पताल क्षेत्रलाई सफा राख्ने उद्देश्यका साथ स्वतन्त्ररुपमा युवाहरुले सुरु गरेको अभियान १३औं हप्तामा प्रवेश गरेको छ। ‘स्वच्छ वातावरण, स्वस्थ जीवन, फोहोरमैला जथाभावी फाल्नेहरु समाजका सत्रु हुन्’ भन्दै भरतपुर महानगरपालिकाको समन्वय र भरतपुर अस्पतालको पहलमा विभिन्न सामाजिक संघसस्थामार्फत अस्पताल क्षेत्रमा सरसफाइ गर्दै आइरहेकाे छ।
उक्त अभियानमा भरतपुर महानगरपालिका, भरतपुर अस्पताल, वे ग्रुप नेपाल, सन्देश फाउन्डेसन, महानगर युवा सञ्जाल, द युनाइटेड चितवन, वार्सा नेपाललगायतका संघसंस्थाहरुले सरसफाइ गर्दै आएका छन्। अस्पतालजस्ताे संवेदनशील क्षेत्रकाे सरसफाइमा युवाहरुकाे सहभागीता र सहकार्यले ठूलो टेवा पुगेकाे चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। वे ग्रुप नेपालजस्ता वर्षाैँदेखि सरसफाइमा निरन्तरता दिँदै आएकाे संस्थाले समेत अस्पतालकाे सरसफाइमा साथ दिएपछि समाजमा सरसफाइकाे चेतनास्तर बढ्दै गएकाे उनले बताए।

यही अभियानलाई निरन्तरता दिँदै गए भरतपुर मात्र नभई समग्र भरतपुर महानगर हुँदै चितवन जिल्लालाई नै पूर्णरुपमा फोहरमुक्त जिल्लाको रुपमा विकास गर्न समय नलाग्ने प्रमुख जिल्ला अधिकारी भट्टराईकाे भनाइ छ। उनले आगामी दिनमा जिल्ला प्रशान कार्यलयको तर्फबाट पनि सक्दाे सहयोग गर्ने बचन दिए।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालजस्तो संवेदनशील स्थानकाे सरसफाइ गरे समाज त्यसै सफा हुने बताए। भरतपुर अस्पतालमात्र नभई जिल्लाका हरेक अस्पतालमा सरसफाइ आवश्यक रहेकाे उनकाे भनाइ छ। हरेक क्षेत्रमा एकल प्रयासले सम्भव नहुने हुँदा सबैकाे हातेमालाे उत्तिकै आवश्यक रहने उनकाे भनाइ छ।


























