काठमाडौँ । २०७५ फागुन २८ गते प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रीपरिषद बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई प्रतिबन्ध गर्यो, जसका कारण अहिले विप्लव नेतृत्वकाे नेकपा माओवादी भूमिगत अवस्थामा छ। तर, सरकार पक्षमा रहेकै नेकपा दुईभागमा विभाजन भएपछि भने प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला आफैँले प्रतिबन्ध लगाएकाे विप्लव नेतृत्वकाे माओवादी फकाउन थालेका छन्। हिजाे संगै रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल छुट्टिएपछि आफू कमजाेर हुने डर दुवै पक्षलाई छ।
माधवकुमार नेपाल र झलनाथ खनाललगायतका वरिष्ठ नेताहरु प्रचण्ड समूहमा मिसिएपछि त्यतिबेला अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाएकाे विप्लव माओवादी फकाउन प्रधानमन्त्री ओलीले विप्लवलाई मूलधारमा आउन आग्रह गरेका छन्। हिजाे प्रतिबन्ध लगाएकाे विप्लव नेतृत्वको नेकपा चाहिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा पछिल्लो केही समयदेखि विप्लव समूहसँग वार्ताको पहल गरिरहेका छन्। ओली तिनै प्रधानमन्त्री हुन् र थापा पनि तिनै गृहमन्त्री हुन्, जसले दुई वर्षअघि चन्द नेतृत्वको नेकपाका हरेक गतिविधिलाई प्रतिबन्ध लगाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
ओलीले राजनीतिक ध्रुविकरणका कारण अधिकांश राजनैतिक दल सरकारविरुद्ध उभिएपछि उग्रबामपन्त्री र राष्ट्रवादी शक्तिलाई आफूतिर ल्याउने प्रयास गरेकाे राजनीतिक विश्लेषक श्याम श्रेष्ठले बताए। पछिल्लो समय प्रधानमन्त्री ओली पूर्वमाओवादी ‘सेन्टीमेन्ट’ समात्न खोजिरहेका छन्। दाहाल-नेपाल समूहले पूर्वएमालेको एउटा धारलाई आफूतिर तानेर लगेकै कारण यो सबै भएकाे हाे। नेकपा पुष्पकमल दाहालले पूर्वएमालेका नेताहरूसँग एउटा धारलाई आफूतिर ढल्काएर आफ्नो खेमालाई आधिकारिक नेकपा दाबी गरिरहेका छन् भने चुनाव चिन्ह सूर्य आफू निकट नेकपाकाे भएकाे पनि दाबी गरिरहेका छन्।
तर, प्रधानमन्त्री ओलीसँग पूर्वमाओवादीका केही ठूला नेताहरू भए पनि कार्यकर्ता प्रर्याप्त छैनन्। यही कारण प्रधानमन्त्री ओलीले असन्तुष्ट पूर्वजनमुक्ति सेनादेखि विप्लवसम्मलाई फकाउने प्रयास गरिरहेका छन्। पूर्वमाओवादी सेन्टीमेन्टलाई समात्ने ओलीको प्रयास अहिले पनि जारी छ। यही सन्दर्भमा उनले प्रतिबन्धित नेकपा (विप्लव)सँग पनि वार्ताको हात अगाडि बढाएका हुन्।
विप्लवले पनि शनिबार विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेकाे बताएपछि यो ओलीकाे प्रयास छर्लङ्ग भएकाे छ। ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्न अवस्थामा हाम्रो पार्टी सरकारसाग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं।’
प्राध्यापक कृष्ण पाेखरेल भने प्रतिबन्ध लगाउने भनेकै दबाब दिनको लागि भएकाेले सरकारको आवश्यक्ता र प्रतिबन्धित दलको चहानाले मात्र यो वार्ता सफल हुने बताउँछन्। सरकार र विप्लव नेतृत्वको नेकपाबीच यसअघि पनि वार्ताकाे प्रयास भएकै हाे। तर वार्ता सफल नभएपछि विप्लवलाई मूल धारमा ल्याउन सकेन। र अहिले पुनः प्रधानमन्त्री ओलीकाे कदमपछि विप्लव पनि सकारात्मक देखिएका छन्।


























