नवलपुर, फागुन ८ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कम्युनिस्टहरुसँगै कहिल्यै पनि मिल्न नहुने बताएका छन्।
नेपाल प्रेस युनियन नवलपरासी पुर्वको आयोजनामा शुक्रबार कावासोतीमा भएको सूर्यभक्त अधिकारी पतनादेवी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोइरालाले विगतमा पनि कम्युनिस्टहरुसँग मिलेर कांग्रेसले गल्ती गरेको बताए।
कम्युनिस्टहरुसँग मिल्न नहुने भएकैले संसद पुनःस्थापनाको आन्दोलनमा पनि कांग्रेस एक लड्न चाहेको उनले उल्लेख गरे। संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने भन्दै कोइरालाले संसद पुनःस्थापनका लागि काङ्ग्रेस एक्लै भएपनि लड्ने बताए।
कोइरालाले आगामी बैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन्। प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान च्यातेको आरोप लगाउँदै महामन्त्री कोइरालाले बैशाखमा कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने उल्लेख गरे।
वैशाखमा चुनाव हुने सम्भावना नभएको तर कांग्रेस चुनावबाट नभाग्ने उनको भनाई थियो। चुनाव जहिले भएपनि कांग्रेस पहिलो पार्टी हुनेसमेत उनले दाबी गरे। आफूहरुको प्रतिष्पर्धा ओलीसँग हुने भन्दै कोइरालाले कांग्रेसले गुटगत मान्यता भने त्याग्नुपर्ने बताए।
गुटगत मान्यता त्यागेर कांग्रेस एक ठाउँमा हुने हो भने आगामी निर्वाचनमा सबै कम्युनिस्टहरु एक भए पनि कांग्रेसले चुनाव जित्ने उनले दावी गरे।
उनले संविधानको रक्षा गर्नु नै नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको बताए। नेपाली कांग्रेसको नेतृत्वमा निर्माण गरेको सविधान कार्यान्वयन गर्ने र रक्षा गर्ने काम पनि नेपाली कांग्रेसको काँधमा रहेको उनको भनाई छ। कोइरालाले कांग्रेसले गरेको विरोध कार्यक्रमहरु संविधानको रक्षाका लागि भएको उल्लेख गरे।
अहिले भएको संसद विघटनको विरोध गर्नुको कारण संविधानमाथि कुठाराघात भएको र त्यसको संरक्षण गर्ने कर्तव्य नेपाली कांग्रेसको भएको उनको भनाइ छ।
कार्यक्रममा यस वर्षको सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेललाई पुरस्कृत गरिएको थियो। कांग्रेस नेता मदनभक्त अधिकारीले आफ्नो बाबुआमाको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका थिए। पुरस्कारको राशी २५ हजार रहेको छ।


























