काठमाडौं, फागुन ५ । राष्ट्रिय महिला लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मी नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले दोस्रो हाफमा गोल फर्काउदै बराबरी खेलेको हो। खेलको १७ औं मिनेटमा अमृता जैशीको गोलबाट पुलिसले अग्रता बनाएको थियो। अमृताले कर्नर बलमा हेड गोल गरेकी थिइन्। तर, खेलको ५३ औं मिनेटमा रश्मी घिसिङले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरी ल्याईन। यस्तै खेलको ८७ औं मिनेटमा पुलिस पेनाल्टीमा गोल गर्न चुकेको थियो।
पुलिसकी कप्तान घिम कुमारी गुरुङको पेनाल्टी प्रहार आकाशिएको थियो। पुलिससँग बराबरीमा रोकिएसँगै आर्मीको उपाधि यात्रा कमजोर बनेको छ। दोस्रो स्थानमा रहेको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ। पाँचौं स्थानको पुलिसको १५ अंक रहेको छ।


























