काठमाडौं, फागुन ५ । नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत प्रतिक्रिया दिँदै नेता श्रेष्ठले सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने काम भएको आरोप लगाएका छन्।
‘देश गम्भीर संकटबाट गुज्रदैछ। संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन,’ उनले भनेका छन्, ‘पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ। सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ।’
विदेशी शक्तिहरूले कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट आफ्नो स्वार्थ पूरा गर्न सुक्ष्म व्यवस्थापनमा चासो दिएर क्रमशः हस्तक्षेप बढाइरहेको उनको भनाइ छ। उनले वैदेशिक हस्तक्षेपलाई परास्त गर्न एकजुट हुन आग्रह गरेका छन्।
‘विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म व्वस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्,’ उनले भनेका छन्, ‘सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं। प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं।’


























