काठमाडौं, माघ २९ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्किने दावी गरेका छन्।
आफ्नो पक्ष मुल नेकपा भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले ओलीपक्षका नेताहरु फर्किनको लागि आफूसँग निरन्तर संवादमा रहेको बताएका हुन्। बिहीबार काठमाडौंमा नेकपा सोलुखुम्वुको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले मन्त्री, सांसददेखि अन्य नेताहरु निरन्तर आफूसंगको संवादमा रहेको भन्दै छिटै फर्कने तर्क गरे।
प्रचण्डले पार्टी एकतादेखि नै ओलीले सहमति बेगर आफूखुसी काम गर्दै हिँडेकाले अहिलको अवस्था आएको बताए। पार्टी एकता गर्दा राजनितिक प्रतिवेदन र विधान गरी २ वटा आधार तय गरेको भन्दै उनले अब पनि सोही आधारमा पार्टीलाई मजबुद गर्दै लैजाने बताए।
उनले ओलीले पार्टी फुटेको भन्दै भ्रम छरेकाले अनावश्यक भ्रममा नलाग्न पनि उनले आग्रह गरे। त्यस्तै नेकपा दाहाल–नेपाल पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले अहिलेको आन्दोलन पदका लागि नभएर संविधान र लोकतन्त्रको रक्षाको लागि भएको बताए।
उनले निर्वाचन आयोग र अदालतले नियम र संविधान अनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे। अध्यक्ष नेपालले अब केपी ओलीसंगको सम्बन्ध एकादेशको जस्तो भएको तर्क समेत गरे।

























