काठमाडौं, माघ २९ । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ।
पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने उनले बताए। खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ।
उनका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ।
पहिलो चरणको पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजारलाई लगाउने योजना भए पनि एक लाख ८४ हजारले खोप लगाएका छन्। पहिलो चरणबाट बचेको खोप पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई यही माघ २६ गतेदेखि लगाउन थालिएको हो। उनीहरुलाई शुक्रबारसम्म लगाइने छ।
कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ। तीमध्ये मन्त्रालयले यही माघ १४ गतेदेखि माघ २४ गतेसम्म पहिलो चरणमा कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप दिनेमध्ये पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप प्रदान गरेको थियो। भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो। यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ।
मन्त्रालयका प्रवक्ता डा.गौतमले दोस्रो चरणका खोप अभियान नयाँ खोप आएपछि मात्र सञ्चालन गरिने बताए। नेपालमा अहिलेसम्म दुई लाख ७२ हजार ३४९ सङ्क्रमित भएका छन्। नेपालमा दुई लाख ६८ हजार ५४९ व्यक्ति निको र दुई हजार ४७ जनाको सङ्क्रमणबाट निधन भएको छ। रासस


























